काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालको २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
उनले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने समेत बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौं । त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गरिनेछ । मेरो कार्यकालमा यति महत्त्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा संकल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो ।’
बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।