काठमाडौं। काबेली–३ जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिइने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काबेली–३ का लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो।
त्यसैगरी मन्त्रीपरिषद् बैठकले स्थानीय जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। फौजदारी कसुर (कैद कट्टा) तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको हो।
त्यस्तै संघीय संसदको प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११.८ हेक्टर जग्गा चुनढुंगा उत्खनन् र खानी सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ।