काठमाडौं। ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएको छ। आयोजनाको लिखुतर्फको १.४२६ किलोमिटर लामो मुख्य सुरुङ बुधबार खनेर सकिएको हो।
नुप्चेतर्फको सुरुङ निर्माणको काम भइरहेको छ । आयोजनाको २९९ मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) को निर्माण भने यसअघि नै सम्पन्न भइसकेको छ।
समुन्द्री सतहबाट ३३४० मिटर उचाइमा यो आयोजना बाँध निर्माण भइरहेको छ । विद्युतगृह २६०० मिटर उचाइमा बनिरहेको छ । हिउँदमा अधिक चिसो हुने हुँदा फागुनपछिबाट मात्रै निर्माणले गति पाउने गरेको छ ।
अहिलेसम्म आयोजनाको सिभिलतर्फ करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। यो आयोजनाको लिखुतर्फको बाँध क्षेत्रमा करिब ९५ प्रतिशत निर्माण पूरा भएको छ ।
आयोजनाको सबै काम पूरा गरेर २०८२ साउनभित्र उत्पादन गर्ने लक्ष्य छ ।