चितवन। धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो।
नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे।
प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७ वटा वडाहरुको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।
कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताए ।