काठमाडौं। नेपालसँग दुई पक्षीय हवाई सम्झौता गर्नका लागि रुवान्डाले प्रस्ताव गरेको छ। रुवाण्डाका गैरआवासीय राजदूत ज्याकलिन मुकाङ्गीराले उडुडयन मन्त्री प्रेम आलेलाई दुई पक्षीय हवाई सम्झौताका लागि प्रस्ताव गरेकी हुन्।
राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएको भन्दै सम्झौताका लागि चासो देखाएकी हुन्। भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा हुने जानकारी दिएकी छिन्।
रुवाण्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक छ। यो सम्झौताले दुई मुलुकको मित्रता थप कायम हुने उनले बताइन्।
मन्त्री आलेले रुवान्डाबाट आएको प्रस्तावलाई औपचारिक माध्यमबाट प्रक्रिया अगाडि बढाउने जानकारी दिए।