झापा। सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित बनेका छन्। ठेक्का लागेको दुई वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि झापाको कनकाईस्थित सुरुंगा र झापा गाउँपालिका जोड्ने अमरपथ सडकका उपभोक्ता आन्दोलित बनेका हुन्।
स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन्। सडकमा धुलो उडेर बसिनसक्नु हुँदा पनि निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि झापा गाउँपालिका–६ शरणामतीका स्थानीय आन्दोलित बनेका हुन्।
आइतबार र सोमबार सडक अवरुद्ध गरेका स्थानीयले मंगलबारबाट एम्बुलेन्स, दूध बोक्ने गाडीबाहेकका सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन्। सोमबार स्थानीयको पहलमा वडाध्यक्ष हरिबहादुर बानियाँसहितको सर्वदलीय बैठकले सडक निर्माणको ग्यारेन्टी नभएसम्म सडक अवरुद्ध गर्ने निर्णय गरेको छ।
१६ किलोमिटरको ठेक्का लागेको यो सडक प्रदेश सरकारको बहुवर्षे योजना हो। ०७६ भदौमा चार वर्षभित्र सक्ने गरी पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा मैनाचुली–रोशन जेभीलाई ठेक्का दिएको थियो। तर, अहिलेसम्म ११ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिए।