काठमाडौं। अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको ठेक्का एक स्वदेशी कम्पनीले पाउने निश्चित भएको छ।
मुडभरी एन्ड जोशीले मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसन एसडीएन, बीएचडीसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा नवलपुरको २२० केभी भूमही सबस्टेसनदेखि भारतीय सीमासम्म ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको जिम्मा पाउने करिब टुंगो लागेको हो।
परियोजना कार्यान्वयनकर्ता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले जेठ १४ गते खोलेको आर्थिक प्रस्तावमा दुई भारतीय कम्पनीले भन्दा मुडभरी एन्ड जोशीले कम रकम कबुल गरेको छ ।
एमसीए नेपालले उक्त खण्डको निर्माणका लागि १ करोड ३२ लाख ४० हजार अमेरिकी डलर (करिब १ अर्ब ७५ करोड ९४ लाख ६३ हजार रुपैयाँ) मा कामलाई तीव्रता दिने गरी (एक खामे–सिंगल इन्भेलप) प्रतिस्पर्धा गराएको थियो। मुडभरी एन्ड जोशीले मलेसियन कम्पनीको संयुक्त उपक्रममा तोकिएको खण्ड निर्माण गर्न १ करोड २७ लाख ९५ हजार ९ सय ६९ अमेरिकी डलरमा हालेको थियो । यो रकम संयुक्त उपक्रमले कुल बिलमा १.५ प्रतिशत छुट दिने कबोलसमेत गरेर अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा कम हो ।
स्राेत:उर्जा खबर