काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ ।
आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
आन्तरिक खपत विस्तारका बाबजुद पनि यो वर्ष उच्चतम करिब एक हजार दुई सय मेगावाटसम्म अधिक हुने देखिएको छ । बर्खामा नदीमा पानीको बहाव बढ्दै जाँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने जडित क्षमता पनि तीन हजार १४१ मेगावाट पुगिसकेको छ ।
पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले पिक डिमान्ड दुई हजार मेगावाट रेकर्ड गरिरहेको छ । यसले गर्दा आन्तरिक खपत पनि बढ्दो छ ।
प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड तथा रियलटाइम मार्केट र द्विपक्षीय सम्झौताबमोजिम यस विद्युत् वर्ष निर्यातको योजना बनाएको छ । द्विपक्षीय सम्झौताबमोजिम विहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लिएनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए।
उता आइइएक्सको रियलटाइम र डे अहेड मार्केटका लागि त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिइएको छ । गोरखापत्रअनलाइनबाट