म्याग्दी। बाढीका कारण निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।
गत मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिंदा भौतिक संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ। खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि २ घण्टासम्म खोला सुक्ने र बाढी आउने गरेको थियो। गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।
२ वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परीक्षण उत्पादन गर्ने तयारी गरेको थियो । करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुऱ्याएको क्षतिका कारण परीक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाले जनाएको छ।