काठमाडौं। जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि आइतबार विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरेको हो।
बोलपत्र आह्वान गरिएको सूचनामा निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने उल्लेख गरिएको छ।
कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो । कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले रु ४ अर्ब ४० करोड लगानी गर्नेछ ।
यस्तै, एचआइडिसीएलले रु ४ अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु ४ अर्ब, लक्ष्मी सनराइज बैंकले रु २ अर्ब र एभरेष्ट बैंकले रु १ अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि रु २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रु १६ अर्ब ऋण र रु ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।