काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ। नेपालको भ्रमणमा रहेका उपाध्यक्ष जोनाथन ब्रुक्सले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका हुन्।
भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।