काठमाडौं। डोल्पा सडक खण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएका छन्।
दुई वर्षअघि एक वर्षभित्रमा निर्माण सम्पन्न हुने भनिएका पुलहरु हालसम्म निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती पाएका हुन्। डोल्पाको खदाङ ,करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलिव्रिज पुल निर्माण हुने भनिएको पुलहरुको जगमा हालसम्म सामान्य पिल्लर मात्र उठाएको छ।
यसैगरी जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भएपनि डोल्पामा पुल निर्माण कार्य ढिलाइ भएको छ। जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यस आर्थिक वर्षमा मात्र बोलपत्र आह्वान गरिएको छ। भेरी करिडोर अन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारणहरु हवाइ माध्यमबाट यात्रा गर्न वाध्य रहेका छन्।
भेरी करिडोरमा निर्माण हुन बाँकी रहेका चार पुलहरु असार सम्ममा निर्माण कार्य सम्पन्न हुने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुखले जानकारी दिएका छन्। हाल सुर्खेत लगाएतका ठाउँमा पुलका सामग्रीहरु ढुवानी कार्य सुरु भइरहेकोले अबको तीन महिना भित्र जडान कार्यसमेत सकिने जनाइएको छ। ३ वर्षअघि सेनाले निर्माण गरी हस्तान्तरण गरेको भेरी करिडोर अन्तरर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक रहेको छ। सो सडक हस्तान्तरण भएसँगै सडक डिभिजनले सडकको स्तरउन्नतीदेखि पुल निर्माणको काम थालेको थियो। तर हालसम्म पुल निर्माण हुन सकेको छैन्।