तनहुँ। ठेक्का सम्झौता भएको ६ वर्ष वितिसक्दा पनि तनहूँको कवादी खोलामा निर्माण भइरहेको पुल अझै पुरा भएको छैन। व्यास नगरपालिका–९ स्थित कवादी खोलामा निर्माण भइरहेको मोटर गुड्ने पुल ठेकेदारको लापरबाहीको कारणले निर्माण पूर्ण हुन नसकेको हो।
पुल निर्माण कार्य अलपत्र अवस्थामा हुँदा आवत जावतमा समस्या परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। यसैगरी ठेकेदारले काम सुस्त गतिमा गरेका कारण ढिलो भएको आरोप लगाएका छन्। स्थानीयले सम्पर्क गर्दा ठेकेदारले फोन समेत नउठाउने र निर्माणको काम समयमा सम्पन्न नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका तत्कालिन प्रमुख एवम् समाजसेवी हरिदत्त पौडेलले चार वर्ष अघि नै बन्नु पर्ने पुल हालसम्म पनि बन्न नसक्नुले ठेकेदारको लापरवाही भएको आरोप लगाएका छन्।
आफु जनप्रतिनिधि हुनुभन्दा अघि नै बन्नुपर्ने पुल आफ्नो कार्यकाल सकिन लाग्दा पनि निर्माण पूरा नभएका कारणले गर्दा लापरबाही गर्ने ठेकेदारलाई रद्धसहित कारबाही पनि गर्नुपर्ने वडाध्यक्षको भनाइ रहेको छ। लामो समयदेखि पुल अलपत्र पर्दा वडाबासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष ले जानकारी दिएका छन्। वडासँग समन्वय गरेर पुल निर्माणको काम अगाडि बढाइनु पर्ने हो तर त्यसो नगरिएको साथै पुल निर्माणका लागि कति बजेट आएको हो बारेमा समेत जानकारी नगराइएको वडाध्यक्षले जानकारी दिएका छन्। ढलानपछि पुल अलपत्र छोडिएको उनले जनाएका छन्। पुल निर्माण नहुँदा स्थानीयबासी जोखिम मोलेर खोला तर्न बाध्य रहेका छन्।
यसैगरी सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारीले चैत मसान्तसम्मको लागि म्याद थप भएको र सो अवधिमा पुरा गर्न ताकेता गरिएको जानकारी दिएका छन्। ८० प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको उनले जानकारी दिएका छन्। कोरोना भाईरसको सङ्क्रमण लगायतको कारण देखाई निवेदन परेकाले म्याद थप भएको उनको भनाइ छ।
पुलको जाली लगाउने, दायाँ बायाँ रेलिङ राख्ने, खोलातर्फ तटबन्ध गर्ने काम बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। कार्यालयकाअनुसार सङ्घीय सरकारको ३ करोड ९१ लाख ४७ हजार २ सय २० रुपैयाँको लागतमा सो पुल निर्माण भईरहेको छ। सो पुल निर्माणको ठेक्का हिरा एण्ड नमिता कन्स्ट्रक्सनले पाएको छ ।