काठमाडौं। नेपालबाट ४० मेगावाट जलविद्युत् किन्न गरेको निर्णय बंगलादेशको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। मंगलबार मन्त्रिपरिषद् अन्तर्गतको ‘क्याबिनेट कमिटि अन गभर्मेन्ट पर्चेज (सीसीजीपी)’ ले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय स्वीकृत गरेको हो ।
बंगलादेशका अर्थ मन्त्री अब्दुल हसन मोहोम्मद अलीले अध्यक्षता गरेको सीसीजीपीको १५औं बैठकले प्रस्ताव स्वीकृत गरेको त्यहाँको बंगलादेश संवाद संस्थाले जनाएको छ । बैठकपछि मन्त्रिपरिषद् विभागका सचिव मोहोम्मद हसन खानले उक्त कुरा सार्वजनिक गरेका थिए ।
उनका अनुसार बंगलादेश, नेपाल र भारतबीच भएको त्रिपक्षीय सम्झौताका आधारमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) ले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्नेछ । विद्युत् खरिद गर्ने विषयमा यसअधि नै बीपीडीपी, नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता भइसकेको छ ।