पाल्पा। निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजनले पुनः सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरेको छ। राजमार्ग मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने सडक डिभिजन पाल्पाले जानकारी दिएको छ।
सो सडक यो भन्दा अगाडी पनि दैनिक ८ घण्टा बन्द हुँदै आएको थियो। निर्माण व्यवसायीको लापर्वाहीले अघिल्लो वर्षदेखिका काम नसकेको र काम छिटो सक्नका लागि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड १५ दिनसम्म बन्द रहने सडक डिभिजनले जनाएको छ। रुपन्देहीको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सा पुलसम्मको खण्डका साथै चर्चरे कालीमाटीदेखि गौडेपुलसम्म सडक चौडा गर्न बन्द गरेको सडक डिभिजन प्रमुखले बताएका छन्।
पटकपटक निर्माण व्यवसायीले काम नसकेको भन्दै सडक डिभिजनले यसअघि दैनिक १५ घण्टासम्म सडक बन्द गरेको थियो। सो क्षेत्रको घुम्तीमा सडक चौडा गर्ने, दोभान बजार क्षेत्रमा अघिल्लो वर्ष नै ठेक्का भएको धर्मकांटा राख्ने स्थानको कामका साथै पर्खाल लगाउने र नाली निर्माणका लागि सडक बन्द गरेर काम गर्न लागेको हो। यसैगरी घुम्ती कटान गर्दा सवारी साधनले समस्या ल्याएको भन्दै निर्माण व्यवसायीले सवारी साधन बन्द गर्न आग्रह गरेको थियो। सडक डिभिजन र प्रशासन कार्यालयको छलफलबाट दैनिक राती साढे ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजनले जानकारी दिएको छ।