काठमाडौं। निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो। आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको भएपनि चाडपर्वमा ८ दिन बिदा र आयोजनास्थलमा भएको दुर्घटनाबाट मजदुरको ज्यान जाँदा १४ दिन काम बन्द हुँदा अपेक्षाकृत प्रगति नभएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुखले जानकारी दिएका छन्। हाल आयोजना निर्माणले गति लिइसकेको उनले बताएका छन्।
आयोजना कार्यालयले मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने जानकारी दिएको छ। त्यसअघि ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको जनाइएको छ। अडिट र मुख्य गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमा १७ मंसिरसम्ममा १ हजार ८ सय ८८ मिटर सुरुङ खनिसकिएको आयोजना प्रमुखले जानकारी दिएका छन्।
आयोजनामा मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेकोमा हालसम्म ५ सय ९९ मिटर सम्पन्न भएको छ। इभ्याकुएसन सुरुङ १ हजार १ सय २१, वर्किङ अडिट १ सय २६ र क्रस प्यासेज ४२ सम्पन्न भइसकेको छ। कुल इभ्याकुएसन, वर्किङ र क्रस प्याकेज क्रमशः २ हजार ५ सय ५७ मिटर, १ सय २६ मिटर र १ सय २८ मिटर रहेको छ। सुरुङमार्गको खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ९ मिटर र धादिङतर्फ ८ सय ७९ मिटर सम्पन्न भएको आयोजनाले जनाएको छ। यसैगरी सो आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना निर्माण सुरुगर्दा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान गरिएको थियो। जाइकाले उक्त सुरुङ निर्माणमा १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।
यसबाहेक संरचना निर्माणतर्फ एउटा अन्डरपास सम्पन्न भइसकेको छ । आयोजनाले निर्माण गर्ने भनिएको २ वटा अन्डरपासमध्ये एक वटा निर्माण सम्पन्न भइसकेको छ भने चारवटा बक्स कल्भर्टमध्ये तीनवटा, ओभर पास एउटा निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ। यसैगरी तीनवटा पुल निर्माणमध्ये दुईवटा सकिएका छन् भने फ्लाइओभर निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ। कुल ११ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ७ निर्माण सम्पन्न भइसकेका छन्। यसैगरी सो आयोजना अप्रिल २०२३ मा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ ।