काठमाडौं। बिस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा पुगेको छ। करिब पाँच वर्ष पहिले निर्माण शुरु भएको सो सडकको निर्माण कार्य ९५ प्रतिशत सकिएको छ। सो सडक पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने हाल सो स्थानमा घर भत्काएर निर्माणस्थल खाली गरीसकेकाले हाल धमाधम काम भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ।
विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सो सडक निर्माण कार्य अघि बढ्न सकेको थिएन। तर दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो। यसैगरी तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको भएपनि हाल त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जानकारी दिएको छ। सडकको चौडाइ कम भएकै कारण सो क्षेत्रमा पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन।
सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ। त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ। उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम हुने जनाइएको छ। सो आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो। सो सडक निर्माणको लागि डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो। एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो।