म्याग्दी। जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ। जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो।
सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उक्त आयोजना निर्माण गरेको हो।
कार्यालयले डिपबोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको परीक्षण सफल भएको बताएको छ ।
म्याग्दी नदी किनारमा प्वाल पारेर राखिएको दुई सय एमएम क्षमताको जिआइ पाइपभित्र प्रतिसेकेण्ड १२ दशमलव पाँच लिटर पानी तान्न सक्ने २५ ‘हर्सपावर’ क्षमताको ‘सम्पवेल पम्प’ (पानी तान्ने उपकरण) जडान गरिएको छ ।
अठचालीस हजार लिटर क्षमताको ट्याङ्कीभन्दा ७० मिटरमाथि दुई सय १८ मिटर पाइपबाट प्रतिसेकेण्ड दुई लिटरका दरले तान्ने पानी सङ्कलन गर्न २२ हजार पाँच सय लिटर क्षमताको अर्को ट्याङ्की बनाइएको छ।