काठमाडौं। नेपाल समाजवादी पार्टीले बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका हुन् ।
बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न ज्ञापनपत्रमा माग गरिएको छ। अधिकार र साधनस्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा.भट्टराईले जानकारी दिए ।
त्यस्तै, प्राधिकरणमार्फत समग्र बूढीगण्डकी करिडोर विकासका कामहरु तिव्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए