काठमाण्डौं। याङ्ग्री र लार्के खोलाको आयोजनास्थलसम्म पुग्ने सडक वर्षाका कारण भत्किएकामा अझै मर्मत हुन सकेको छैन। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माणका लागि पहुँचमार्ग निर्माण भइरहँदा असारको पहिलो हप्तामा उक्त सडक बगाएको थियो।
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार २० किमी सडकमध्ये लगभग ५ किमी सडक बगाएको छ। पहिलो चरणमा मेलम्ची नदीसम्म पुग्ने सडक नबनेकाले अहिले उक्त सडकको मर्मत प्राथमिकतामा नपरेको हो।
दश किमी सडकमध्ये पाँच किमी विभाग र अर्को पाँच किमी आयोजनाले निर्माण गरेको थियो। धापदेखि लार्के र याङ्ग्रीसम्मको सडक निर्माण आयोजनाले गरेको थियो। अहिले निर्माण व्यवसायीले निर्माण अघि बढाउन मन गरेको उनले जानकारी दिए।
आयोजनालाई लक्षित गरेर निर्माण हुन लागे पनि उक्त सडकको निर्माण सम्पन्न हुँदा स्थानीयवासीलाई समेत फाइदा पुग्ने देखिएको छ। यहाँका ३८० कित्ता अधिग्रहण गरेर सडक निर्माण गरिएको थियो। गत असारमा मेलम्ची नदीमा आएको बाढीले गर्दा खानेपानी आयोजनामा ठूलो क्षति सँगै आयोजनास्थलमा रहेका धेरै संरचना र निर्माण सामग्री बाढीले बगाएको थियो।