संखुवासभा। संखुवासभामा १४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । संखुवासभामा निर्माणाधीन ६ मेगावाटको सुपरहेवा जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गर्न प्रसारण लाइन निर्माण गर्न लागिएको हो।
यसका लागि अनुमति माग्दै प्रवर्द्धक सुपरहेवा पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
प्रसारण लाइन अन्तर्गत चैनपुर नगरपालिकाको वडा नं ४ मा अवस्थित आयोजनाको स्विचयार्डदेखि पाँचखपन नगरपालिका हुँदै चैनपुर नगरपालिकाको वडा नम्बर ८ मा रहेको नेपाल विद्युत प्राधिकरणको २२०र३३ केभी बानेश्वर सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिनेछ।
प्रवर्द्धक कम्पनीका अनुसार १४.०७ किलोमिटर लामो प्रसारण लाइनमा करिब २५७ वटा टेलिस्कोपिक टुबुलर पोलहरू रहने छन्। पोलहरूको उचाइ १३ मिटर तथा औसत दूरी ५४.७ मिटर हुनेछ।
१२ महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको प्रसारण लाइन निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय तथा प्रतिक्रिया दिन विभागले सूचना जारी गरेको छ