बझाङ। वर्षौंदेखि स्थानीयहरुले निकाल्दै आएको रन्नी भीरको स्लेट(पल्टा) खानी बन्द भएको छ। स्लेट खानी बन्द भएपछि बुङ्ल नगरपालिका १ रन्नी भीरका स्थानीयबासीको रोजगारी खोसिएको छ। डिभिजन वन कार्यालय बझाङले बुङ्गल नगरपालिका १ रन्नीभिरमा रहेको स्लेट खानी उत्खनन्मा प्रतिबन्ध लगाएपछि खानी बन्द भएको हो।
खासगरी पहाडी क्षेत्रमा घरको छाना छाउनका लागि प्रयोग हुने स्लेट खानीबाट निकालेर बझाङ र बैतडीका विभिन्न ठाउँमा विक्री हुँदै आएको थियो। मेसिन प्रयोग गरी प्रशोधन गरेको खण्डमा मार्बल बनाउन सकिने खालको स्लेट खानीलाई वातावरण परीक्षण नगरी उत्खनन गरेको भन्दै डिभिजन वन कार्यालयले खानीबाट स्लेट निकाल्न प्रतिबन्ध गराउनुका साथै ओसारपसारमा पनि प्रतिबन्ध लगाएको छ।
बाजेको पालादेखि निकाल्दै आएको स्लेट खानीलाई प्रतिबन्ध गराउनु राम्रो नभएको बरु आफुहरु कानुनी प्रक्रिया पुरा गर्न तयार रहेको त्यहाँको एक स्थानीयको भनाइ रहेको छ। उनले उक्त खानी बन्द हुँदा बुङ्गल नगरपालिकाका २०० सय जनाभन्दा बढीले प्रतक्ष तथा अप्रत्यक्ष रोजगारी गुमाउनुपरेको बताउँदै छिटोभन्दा छिटो खानी सञ्चालनका लागी पहल गरिनुपर्ने जनाएका छन्। स्थानीयबासीले निकालेका लाखौं मूल्य बराबरका स्लेटहरु हाल पनि खानी भएको ठाउँ र खानी नजिकैको बाटोको आसपासमा राखिएका छन्।
खानी बन्द भएको ९ महिना बितिसक्दा पनि स्थानीय सरकारले यसतर्फ चासो नदिएको स्थानीयको गुनासो रहेको छ। यसैगरी बुङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गैरकानुनी तरिकाले खानी उत्खनन गरेकाले डिभिजन वन कार्यालयले बन्द गर्न लगाएको बताउँदै वातावरण परीक्षण गरेर कानुनी प्रक्रिया पुर्याएपछि खानी सुचारु हुने जानकारी दिएका छन्।