फाइल तस्बिर
दाङ। असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस वर्ष ढिला गरेर वर्षा हुँदा रोपाइँमा ढिलाइ भएको हो।
सिँचाइ सुविधा हुने ठाउँमा रोपाइ सुरु भए पनि जिल्लामा अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा किसानलाई बर्षे खेती गर्नुपर्ने बाध्यताका कारण यो बर्ष रोपाइ कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नदी र डिप बोरिङको पानीबाट सिँचाइ हुने क्षेत्रमा धान रोप्ने काम भइरहेको भए पनि अधिकांश ठाउँमा खेत बाँझै रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए। उनका अनुसार जिल्लामा गतवर्ष असारको आधासम्म जिल्लामा करिव ३० प्रतिशत धान रोपाइँ सकिएको थियो ।
पानी नपर्दा किसानले समयमै बीउ नै राख्न नपाउँदा रोपाइ ढिला हुन गएको कृषि अर्थविज्ञ लामिछाने बताउनुभयो । राप्ती नदीको पानीले सिँचाइ हुने देउखुरी क्षेत्रमा धान रोपाइँ अन्तिम अवस्थामा पुगेको छ ।
पर्गन्ना कुलो सिँचाइ आयोजना, अर्जुनखोला सिँचाइ आयोजना र केही भूमिगत पानीले सिँचाइ हुने क्षेत्रमा धान रोपाइ भए पनि दाङ उपत्यकातिर हुन नसकेको कृषि अर्थविज्ञ लामिछानेले बताए। उनका अनुसार देउखुरीमा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ। गोरखापत्रअनलाइनबाट