काठमाडौं। ६ महिनादेखि अवरुद्ध मुडे–चरिकोट सडकखण्डको काम पुनः सुरु भएको छ। बीचमा रोकिएको काम सुनौला खिम्ती निर्माण कम्पनीले सम्हालेर अगाडी बढाएको हो।
लामोसाँघु–चरिकोटसम्मको अरनिको राजमार्गअन्तर्गत मुडे चरिकोटको काम रोकिँदा सिन्धुपाल्चोक र दोलखाका स्थानीयले ठुलो विरोध गर्दै आएकामा ५४ किलोमिटर अरनिको राजमार्गअन्तर्गत मुडे–चरिकोट ३० किलोमिटर सडकखण्डको काम सुरु भएपछि सिन्धु–दोलखाका स्थानीय खुसि भएका छन्।
लामो समयदेखि रोकिएको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आइतबारबाट पुनः सुरु गरिएको सुनौला खिम्ती निर्माण कम्पनीका इन्जिनियर गणेश भण्डारीले जानकारी दिए। लामोसाँघुदेखि मुडेसम्मको २४ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएपनि मुडे खण्डको काम रोकिएको थियो।
मुडेदेखि चरिकोटसम्म ६ किलोमिटर सडक पहिलो सतह कालोपत्रे भएको छ। १२ किलोमिटर बेस बिछ्याउने काम सकिएको र १२ किलोमिटर सडकमा बेस बिछ्याउने काम धमाधम भइरहेको भण्डारीले बताए। मुडे–चरिकोट सडकको ७८ प्रतिशत काम सम्पन्न भएको छ।
पुस र माघमा सबै पूर्वाधार तयार गर्ने र ०७९ वैशाखसम्म कालोपत्रे सम्पन्न गर्ने योजना रहेको पनि उनले् जानकारी दिए। भारतीय एक्जिम बैंकको वित्तीय सहयोग रहेकाले भारतीय निर्माण कम्पनी सकिल हैदरको ५१ प्रतिशत सेयर छ।