काठमाडौं। नारायणगढ सडक खण्ड विस्तारको काम हालसम्म आधा मात्र पूरा भएको छ। सडक विस्तारको काम अहिलेसम्म ५२ प्रतिशत मात्र भएको हो।
निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले समयमै काम नगर्दा सडक विस्तार कार्य ढिलाइ हुनुको साथै उक्त सडकको यात्रा समेत कष्टकर भएको स्थानीय बताउँछन्।
निर्माण कम्पनीले सरकारले ठेक्का सुरु भएपछि रुख कटानको आदेश ढिलो दिएको, कोरोना माहामारीको कारण तीन वर्ष खेर गएकाले काम ढिलो भएको र आफ्नो ६ अर्ब रुपैयाँ घाटा लागेको दाबी गर्दै आएको छ । अहिले वर्षात्ले बिगारेको सडक मर्मतका लागि समेत रकम अभाव भएको देखाउँदै सडक विभागले मर्मत गरेर पछि आफुले पाउनुपर्ने रकममा घटाउन भन्दै आएको छ ।
एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा बुटवलदेखि नारायणगढसम्मको १ सय १५ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर राजमार्ग विस्तारको काम भइरहेको हो ।
ठेक्का सम्झौता अनुसार २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो । कोरोना, निर्माण सामग्री अभावको कारण देखाएर पूर्वी खण्डको २०८० भदौ ११ र पश्चिम खण्डको साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो ।
पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप गरेको थियो । अब दोस्रो पटक थप गरिएको म्याद समेत सकिन लाग्दा पनि सडक विस्तारको काम आधा मात्र भएको छ।