काठमाडौं। दाङको घोराही उपमहानगर वडा नम्बर ३ कुइरेपानीदेखि वडा नम्बर १६ सर्रा जोड्ने कुइरेपानी–सर्रा बाइपास सडकलाई प्रदेश गौरवको आयोजनाभित्र समावेश गरिएको छ। तीन वर्षअघि सो सडक निर्माणको काम सुरु भएको भएपनि निर्माणको गति सुस्त रहेको छ। प्रदेश सरकारको गौरवको सडक आयोजनाका रूपमा रहे पनि बजेट अभावसँगै आवश्यक पर्ने जग्गा प्राप्तिको काम अघि नबढ्दा निर्माणले गति लिन नसकेको हो।
बाइपास सडकको मुख्य द्वारमै जग्गा प्राप्ति गर्न नसक्दा निर्माणको काम सुस्त भएको पूर्वाधार विकास कार्यालय घोराहीका सूचना अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बाइपास सडकलाई घोराही–लमही सडक खण्डमा जोड्ने सडकको निकास टुंगो लाग्न सकेको छैन। मुख्य द्वारमा सडक टुंगो नलाग्दा निर्माणको काम सुस्त बनेको हो। यसैगरी बाइपास सडक निर्माणका लागि डिपिआर बनाउनेदेखि सिस्ने खोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अन्य खोलामा कल्भर्ट निर्माणदेखि ९ किलोमिटर सडकमध्ये ६ किलोमिटर ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ। तर सडकको मुख्य खण्डमै जग्गा प्राप्ति नहुँदा निकास जामजस्तै भएको जनाइएको छ।
यसैगरी बाइपास सडकको प्रवेश द्वारमै पुल भएकाले सीधा जोड्न नमिल्ने र घुमाएर अन्यत्रबाट लग्दा व्यक्तिको जग्गा भएकाले निर्माणमा समस्या भएको जनाइएको छ। कुइरेपानीमा सडकलाई घोराही–लमही खण्डमा जोड्न करिब २८० मिटरसम्म जग्गा खरिद गर्नुपर्ने सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ। तर, उक्त जग्गा निजी व्यक्तिको नाममा भएकाले समस्या भएको सूचना अधिकारीले बताएका छन्। जग्गा प्राप्तिका लागि स्थानीय सरकार, सम्बद्ध निकायसँग पटक–पटक छलफल भए पनि निकास निस्कन नसकेको उनको भनाइ छ।
सडक विस्तारका लागि पहिलो वर्ष ६ किलोमिटर ग्राभेल गर्नेदेखि उक्त खण्डका विभिन्न स्थानमा करिब ४२ वटा बक्स कल्भर्ट बनाउने काम भएको कार्यालयले जनाएको छ। कोरोना महामारीका कारण र जग्गा प्राप्तिमा समस्या भएपछि आर्थिक वर्ष ०७५÷७६ मा सडकका लागि १० करोड रुपैयाँ बजेट छुट्याइए पनि करिब ६ करोड मात्रै खर्च भएको कार्यालयले जनाएको छ। प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको करिब ९ किलोमिटर कुइरेपानी–सर्रा बाइपास सडकका लागि कार्यालयले करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको जनाएको छ। यसैगरी प्रदेश सरकारले यस आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।