रौतहट। गुजरा नगरपालिका–३ को सिम्री बस्तीको धन्सार नदीमा झोलुंगे पुल बनेको छ। नगरपालिकाले आफ्नै बजेटमा निर्माण गरेको पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो।
नगरपालिकाको ४० लाख बजेटबाट झोलुंगे पुल निर्माण गरिएको हो । यसका लागि स्थानीय उपभोक्ता समिति गठन गरिएको थियो । समितिले कोभिडको बेलामा समेत काम गरेर पुल सम्पन्न गरेको छ । १ सय २० मिटर लामो पुलमा अहिले साना सवारी र मानिसहरू आवतजावत गर्छन् ।
पुल नहुँदा सिम्रीबासी सदरमुकाम जान समेत नदी तर्नुपर्ने बाध्यता थियो। सिम्री गाउँको वारी र पारी गरेर झन्डै ४ सय घरधुरीका सबै मानिस नगरपालिकाको कार्यालय, वडा, चन्द्रनिगाहपुर बजार र सदरमुकाम गौर जान समस्या भोगिरहेका थिए। बालबालिकाहरूले नदी पारि गाउँमा रहेको आधारभूत विद्यालय जान निकै सास्ती भोग्नुपर्थ्यो ।
वर्षाको बेला बगाउने डरले बालबालिका विद्यालय जान डराउने मात्र हैन ठूला मानिस पनि बजार तथा सदरमुकामसम्म जान पनि डराउनु पर्ने बाध्यता थियो। झोलुंगे पुल बनेपछि धेरै सहज भएको स्थानीयको भनाइ छ।
।