सिन्धुपाल्चोक। बाढीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति पुगेको छ। याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्याएको हो।
जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडक समेत अवरुद्ध भएको छ ।
यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामी समेत मारमा परेका बताइएको छ। त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीयले बताएका छन्।