इलाम। ३१ वर्षअघि सवेक्षण गरिएको दमक–चिसापानी–रवि नामक सडक निर्माण कार्य शुरु भएको छ। झापाको दमकदेखि इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडकको निर्माण कार्य शुरु गरिएको हो।
पाँचथरको उत्तर दक्षिणी क्षेत्रका नागरिकले झापा आउजाउका लागि २०१५ सालदेखि गोरेटोका रूपमा प्रयोग गर्दै आएको यो सडक सरकारी तवरबाट २०४७ सालमा सर्वेक्षण गरिएको थियो। इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटोमध्ये एक यो सडक त्यसबेला निर्माण शुरु गरिएपनि अहिलेसम्म अलपत्र अवस्थामा थियो।
हाल यो सडक तीन खण्डमा विभाजन गरेर कालोपत्रको काम शुरु गरिएको छ। पहिलो चरणमा ६.२९ किलोमिटर कालोपत्र शुरु भएको छ । २२ करोड ५९ लाख रुपैयाँको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५.२६ किलोमिटर सडक ५४ करोड ४४ लाख रुपैयाँमा र तेस्रो खण्डको ११.३० किलोमिटर ५९ करोड १५ लाख रुपैयाँमा कालोपत्रका लागि ठेक्का भएको डिभिजन कार्यालय दमकले जनाएको छ।