काठमाडौं। मकवानपुर–काठमाडौ जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) स्तरोन्नति कार्य भइरहेको छ। अहिले थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने कार्य भइरहेको हो।
स्तरोन्नतिको क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन आगामी साउन २० गतेसम्मका लागि बन्द गरिने भएको छ। सडक डिभिजन काठमाडौंले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाइ बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ।
निर्माणस्थलमा रहेको कडा चट्टानका कारण ब्याक कटिङ कार्यमा कठिनाई भई ब्याक कटिङ कार्य सम्पन्न गर्न अनुमान गरिएभन्दा बढी समय लाग्न गएको र मौसमसमेत अनुकूल नरहेकोले आगामी साउन २० गतेसम्मको निर्माण कार्य अवधिभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
उक्त सडक खण्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा बन्द गरेर निर्माण एवं मर्मत सुधार कार्य गरिनेभएकोले कार्यालयले स्थानीय तहलाई सहजीकरण गरिदिन अनुरोध गरेको छ ।