काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडै पाउने बताएका छन्। बुधबार अर्थमन्त्रालयमा भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न नपर्ने बताएका हुन्।
उनले राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुने आश्वासन दिएका छन्।
उनले सरकार निजी क्षेत्रको अभिभावकका रूपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न उद्योगीहरुलाई आग्रह समेत गरेका छन्।