चितवन। रेल मार्गको अध्ययन गर्न चितवन आएको टोली चढेको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार स्थानीयले रेल मार्गको सर्भे गर्ने टोली चढेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडी भरतपुर महानगरपालिका–७ कृष्णपुरमा नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।
अहिले पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म अध्ययन कार्य भइरहेको छ। उक्त कार्यका लागि कन्सल्टेन्सीको टोली चितवन पुगेको थियो। भरतपुर–८ मा सर्भेको काम सकेर वडा नम्बर–७ कृष्णपुरमा पुग्दा स्थानीयले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बस्तीबाट रेल मार्ग लान नपाइने भन्दै स्थानीयले विरोधस्वरुप गाडी जलाएका हुन्। घना बस्ती भएको ठाउँबाट रेल मार्ग बनाउन नहुने उनीहरूको भनाइ छ। स्थानीयले यसअघि पनि संघर्ष समिति नै बनाएर सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए ।