काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगहरुको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री ओलीले प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा काटेको उद्योगको विद्युत तत्काल जडान गर्न निर्देशन दिएका हुन्।
महसुल विवादमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने बताउँदै ओलीले विद्युत भने आजै जडान गर्न भनेको बताइएको छ। प्रधानमन्त्री ओलीले प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषबाट निर्णय गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको निर्देशन पछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताए ।सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ ।