काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काटेको ६ वटा उद्योगको विद्युत तुरुन्तै जडान गर्न विद्युत् नियमन आयोगले निर्देशन दिएको छ। आयोगले आइतबार विद्युत् वितरणकर्ता र ग्राहकबीचको विवाद समाधान हुनुभन्दा अघि विद्युत काट्नु गैरकानुनी भएको भन्दै विद्युत जडान गर्न प्राधिकरणलाई निर्देशन दिएको हो।
ग्राहकले गुनासो गरेपछि आयोगको उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका २०८० को दफा १३ को उपदफा १० को व्यवस्था अनुसार उद्योगमा काटिएको विद्युत् आपूर्ति तत्काल सुचारु गर्न निर्देशन दिएको आयोगले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् प्रयोग गरेको तर प्रिमियमबापतको रकम तिर्न अटेरी गरेको भन्दै पछिल्लो पटक छ उद्योगमा विद्युत् आपूर्ति काटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काटिएको विद्युत् सुचारु गर्न गत शुक्रबार नै निर्देशन दिएका थिए। तर प्राधिकरणले अझै ती उद्योगमा विद्युत जडान गरेको छैन।