डोल्पा। जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा पुल निर्माण कार्य सक्ने समयमा पनि निर्माण शुरु भएको छैन। डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा पुल बन्न नसकेको हो।
दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म पिलर मात्र उठाएर छोडिएको छ।
जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ। जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ। यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन्। भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन्।
भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए। हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ। डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे।
भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ। नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो। सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो।