काठमाडौं। लगानी बोर्डले गत आर्थिक वर्षमा जलविद्युत आयोजनाका लागि मात्र झण्डै ३ खर्ब लगानी स्वीकृत गरेको छ। बोर्डद्वारा विभिन्न ९ परियोजनाका लागि गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको हो।
लगानी स्वीकृत भएको विवरणसहितको कार्यसम्पादन प्रतिवेदन बोर्डका प्रमुख कार्यकारी (सीईओ) अधिकृत सुशील भट्टले लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।
आव २०८०/८१ मा माथिल्लो कर्णालीमा १ खर्ब ६२ अर्ब, सुपर तमोरमा ३४ अर्ब ५९ करोड, रोल्वालिङ खोला जलविद्युत आयोजनामा ७ अर्ब ९३ करोड, छुजुङ खोजा जलविद्युतमा ९ अर्ब ३० करोड, दाना खोला जलविद्युतमा ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत आयोजनामा ९ अर्ब ४६ करोड, अपर मोदी एमा १० अर्ब ८ करोड लगानी स्वीकृत भएको बोर्डले जनाएको छ।
लगानी बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप २०८१ जेठ २२ मा अरुण देसो जलविद्युत परियोजनाको हेडरेस टनेलको ब्रेक थ्रु भएपछि उक्त परियोजनाको जेनेरेशनतर्फ ७५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको बोर्डले जनाएको छ। त्यस्तै आयोजनाको प्रसारण लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण प्रगति भएको छ।