काठमाडौं। उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले उद्यमीहरुलाई जबरजस्ती बढी महसुल तिराउन खोजेको आरोप लगाएका छन्। उद्यमी ध्रुव थापाले नेपाल विद्युत् प्राधिकरणले हचुवाका भरमा उद्यमीलाई जबरजस्ती विद्युतमा थप महसुल तिराउन खोजेको आरोप लगाएका हुन्।
नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको महसुल विवादमा संसद्को सार्वजनिक लेखा समितिले बिहीबार उद्योगीलाई बोलाएर छलफल गरेको थियो। उक्त छलफलका क्रममा उद्यमी पशुपति मुरारकाले प्राधिकरणले आफूहरूलाई ट्रङ्क र डेडिकेटेड लाइनका सर्त पूरा गरेको प्रमाण दिए थप महसुल तिर्न तयार रहेको तर प्राधिकरणले कानुनी दायराबाहिर गएर आफूहरूमाथि जबरजस्ती गरिरहेको आरोप लगाए।
प्राधिकरण महसुल उठाउन विद्युत् आपूर्ति विच्छेदसम्म पुग्नुपर्ने र उद्यमीले तिर्न तयार नहुने अवस्थाबिचमा समाधान निकाल्न भन्दै समितिले उद्यमीको कुरा सुन्न बिहीबार उद्यमीलाई बोलाएर छलफल गरेको थियो।