काठमाडौं। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीयस्थल तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र तथा छिमेकी देश भारतको सिक्किमसँग सीमा नजिक रहेको तिम्बुङ पोखरीमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकहरु बढ्दै गएका छन्। पछिल्लो समय प्रचारप्रसारको पहुँच वृद्धि हुनुको साथै पदमार्ग स्तरोन्नतिलगायतका पूर्वाधार निर्माण गर्न थालिएकाले गदौ सो क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएका हुन्।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रहेको तिम्बुङ पोखरीलाई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिदै आएको छ। यसैगरी धार्मिक महत्वसमेत बोकेको तिम्बुङ पोखरीको दर्शन गर्ने तीर्थयात्री र यस क्षेत्रको अवलोकनका लागि भ्रमणमा जाने पर्यटकहरुको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएका हुन्। पूर्वको गोसाइकुण्डले परिचित तिम्बुङ पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारले पर्यटकीय गन्तव्यमा सूचिकृत गरिसकेको छ। तिम्बुङ पोखरीलाई पर्यटकीय गन्तव्यमा सूचिकृत गरिएसँगै उक्त क्षेत्रको विकासका लागि पदमार्ग सहितका पूर्वाधार निर्माण गर्नाले पर्यटकको आगमन बढ्न थालेको सादेवाका स्थानीयले जानकारी दिएका छन्।
पछिल्लो समय स्थानीय तहसहित प्रदेश तथा सङ्घीय सरकारको पर्यटन लक्षित योजनामार्फत तिम्बुङ पोखरीको पदमार्ग स्तरोन्नति गरिँदै आएको छ। ठाउँठाउँमा विश्रामस्थल, तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस)जस्ता पूर्वाधार निर्माणले पर्यटन यात्रा सहज भएको र भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्षले जानकारी दिएका छन्। यसैगरी सो क्षेत्रका सौन्दर्यकरणलगायतको कार्यले पनि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणका लागि पर्यटकलाई आकर्षित गराएको छ ।
त्यसैगरी अप्ठ्यारो पदमार्गका कारण कालिखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई तीनदेखि चार दिनसम्म लाग्ने सो क्षेत्रमा पूर्वाधारहरु निर्माण गरिएकाले हाल बाह्य तथा आन्तरिक पर्यटकलाई सहज भएको जनाइएको छ।