काठमाडौं। एमसिसी परियोजना अन्तर्गतको तनहुँ जिल्लाको दमौलीमा बन्ने ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको छ।
सबस्टेसन निर्माणका लागि बुधबार भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का सम्झौता सम्पन्न भएको हो।
सम्झौतापत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राबिब अग्रवालले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।