काठमाडौं। मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ। मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म ९० प्रतिशत पूरा भएकाे हाे।
परियोजनाको ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण कार्य पूरा भएको छ भने अब केही प्राविधिक काम मात्र बाँकी रहेको बताइएको छ।
नेपाल–भारत सहयोगमा निर्माण भइरहेको उक्त परियोजनाको बाँकी सम्पूर्ण काम अबको दुई महिनामा पूरा हुने परियोजनाले जनाएको छ।
पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने नेपाल आयल निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको थियो।