काठमाडौं। बाजुराको मार्तडी–कोल्टी सडक खण्ड २२ वर्ष अगाडी नै निर्माण सुरु भएको भएपनि हालसम्म निर्माण हुन सकेको छैन्। सो सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सामान्य काम पनि नगर्दा सडकको अवस्था दयनिय बनेको छ।
सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म पर्ने ४० किलोमिटर सडक कालोपत्रे गर्ने गरी प्रदेश र संघ सरकारबाट बजेट विनियोजन भएको भए पनि हालसम्म सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन। सडक कालोपत्रेका लागि खनिएको भए पनि मर्मत नगर्दा यात्रुहरु सास्ती झेल्दै आएका छन्। मार्तडीदेखि कोल्टीसम्म तीन खण्डमा निर्माणका लागि पूर्वाधार विकास कार्यालय अछामले टेन्डर गरेको थियो।
मार्तडीदेखि चुथीसम्म ९ किलोमिटर पहिलो खण्ड, चुथिदेखि ढम्कनेसम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर ठेक्कामार्फत निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो। सो सडकसँगै टेन्डर भएका अन्य सडकको काम सञ्चालन भएको भए पनि मार्तडी–कोल्टी सडकखण्डमा भने अहिलेसम्म पनि काम हुन सकेको छैन। पटक–पटक सडक सुधारका लागि हारगुहार गरे पनि नियमनकारी निकायले ध्यान नदिएको चुथीका स्थानीयले जानकारी दिएका छन्। अव्यस्थित सडक र खाल्डाखुल्डीका कारण जोखिमका रुपमा यातायात सञ्चालन भइरहेका छन्। सडक निर्माण नभएको कारण सडकमा यात्रुहरु सवारी साधन तानेर यात्रा गर्न बाध्य रहेको छन्।
बडिमालिका नगरपालिका वडा नं ७ का वडा अध्यक्षले चुथीदेखि ढम्कनेसम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया ईश्वशेर जेबी कम्पनीले काममा ढिलाइ गर्दा समस्या भएको जनाएका छन्। यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारीले सडक निर्माण गर्न पटक–पटक ठेकेदार र आयोजना कार्यलयलाई निर्देशन दिएको भए पनि ठेकेदारले कुनै वास्ता नगरेको बताएका छन्। आयोजना कार्यालय साँफेबगरका प्रमुखले ठेकेदार कम्पनीको म्याद असारमा सकिएको र कोरोनाको कारण भनेर आउँदो असारसम्म म्याद थपिएको जानकारी दिएका छन्।
मार्तडी–कोल्टी सडकखण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको थियो। यो सडक निर्माण आयोजना सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको सडक हो। विगतमा सो सडक निर्माणको लागि ४० किलोमिटरमा ३५ करोडभन्दा बढी खर्च भइसकेको थियो। सो सडकको २०५६ सालमा निर्माण कार्य सुरु भएको थियो। तर हालसम्म मार्तडी–कोल्टी सडक निर्माण पूरा हुन सकेको छैन।