बागलुङ। कुश्मीशेरा बजारको सडक बनेको १७ वर्षपछि कालोपत्र गरिएको छ। २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न १७ वर्ष कुर्नुपरेको हो।
पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो।
नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन। म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको बताइएको छ।
जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो। ५२ लाखको लागतमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ।