काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो सार्न भारतसँग सहयोग मागिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले डिपो स्थानान्तरण गर्दा आर्थिक र प्राविधिक सहयोग गरिदिन भारतसँग प्रस्ताव गरेको हो।
सन् २०१८ मा भएको अध्ययनले नै डिपो स्थानान्तरणको लागत ६ अर्ब देखाएको थियो। लागत अत्याधिक भएकाले भारतसँग सहयाेगकाे प्रस्ताव गरेकाे मन्त्रालय स्राेतले जनाएकाे छ।
उद्योगमन्त्री दामोदर भण्डारीले बिमस्टेक बिजनेस समिट २०२४ मा सहभागी हुन गएका बेला इन्डियन आयल निगम (आईओसी) को एभिएसन फ्युल स्टेसन अवलोकनका क्रममा डिपो सार्न सहयोगका लागि प्रस्ताव गरेका हुन्। छलफल अगाडि बढाउन आईओसी पनि सकारात्मक रहेको बताइएको छ।
आइकाओको मापदण्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्र पूर्वाधार विस्तारको काम गरिरहेको छ । अब विस्तार हुने ‘ट्याक्सी वे’ र हवाई इन्धनको ट्यांकी नजिकै रहनेछन् । अति संवेदनशील मानिने इन्धन ट्यांकी नजिकै हुँदा दुर्घटनाको जोखिम उच्च रहेकाले पनि उक्त डिपो सार्नु अतिआवश्यक रहेको छ।