दोलखा। जिल्लाको बिगू गाउँपालिकामा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्र सरसफाइ गरिएको छ। हिउँदमा विद्युत् उत्पादन बढाउन आइतबार १७ घण्टाका लागि विद्युत उत्पादन नै बन्द गरेर बाँध क्षेत्रको सरसफाइ गरिएको हो।
आइतबार बिहान ४ बजेदेखि नै बाँधस्थलमा जम्मा भएको बालुवा र गेग्रान हटाउने काम गरिएको छ। सरसफाइका क्रममा जलाशय खोल्ने र बन्द गर्ने गर्नुपर्ने हुँदा विद्युत्गृह १७ घण्टासम्म बन्द गरिएको थियो।
विभिन्न खोला तथा खोल्सीबाट भूक्षय र पहिराले ल्याएर बाँधमा जम्मा गरेको बालुवालगायत सामग्रीका कारण जलाशय घट्दै जाने भएकाले बेला बेला सफाइ गरिरहनुपर्ने आयोजनाले जनाएको छ। बाँध क्षेत्र सफा भएमा हिउँदका लागि पानी बढी जम्मा गरेर उत्पादन बढाउन सकिने बताइएको छ।
उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने हुँदा यही बेला बाँध सफाइको तालिका राखिएको समेत आयोजनाले जनाएको छ।