काठमाडौं। सिँचाइ परियोजनाका लागि एसियाली विकास बैंकबाट उपलब्ध हुने ऋण तथा अनुदान स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न वार्ता टोली गठन गरिने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी गराएका हुन्।