काठमाडौं। उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा बेलिब्रिज जडान गरिएको छ। पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्।
मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान सुरू गरेर बिहीबार सम्पन्न भएको हो। हाल औपचारिक रूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरू भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताएका छन्। ५० मिटर लम्बाइ र ६.५ मिटर चौडाइको सो बेलीब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले ७६ लाख रुपैयाँको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले जानकारी दिएका छन्।
गाईघाट–दिक्तेल सडकअन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोसीको पानी बहाव बढेसँगै सुनकोसीको बेलिब्रिज ६ महिनाका लागि खोलिने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ। सो क्षेत्रमा वर्षको ६ महिना यातायात अवरुद्ध हुने गरेको छ। यसैगरी सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायी रूपमा यातायात सञ्चालन गर्न ६ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र ६ महिना बर्खामा खोलिने गरेको छ। यसरी वर्षमा ६ महिनासम्म गाईघाट–दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले कष्ट भोग्दै आएका छन्।