सांकेतिक तस्बिर
काठमाडौं। बाँकेका आठै स्थानीय तहले सडक बत्ती प्रयोग गरे बापत २२ करोड ८५ लाख भन्दा बढी महसुल तिर्न बाँकी रहेकाे छ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका अनुसार सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाले तिर्न बाँकी रहेकाे छ। उपमहानगरपालिकाले १९ करोड ९१ लाख ३८ हजार ८४६ रूपैयाँ तिर्न बाँकी रहेको हो।
डुडुवा गाउँपालिकाले १ करोड ९४ लाख, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार, कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार, राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७, बैजनाथ गाउँपालिकाले ६३ हजार, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार र खजुरा गाउँपालिकाले ५ हजार ७७९ रुपैयाँ तिर्न बाँकी रहेको नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ।
पटक पटक बक्यौता रकम तिर्न आग्रह गर्दा समेत यी स्थानीय तहले वेवास्ता गर्दै आएको केन्द्रले जनाएको छ। अहिले केन्द्रले किस्ताबन्दीमा भएपनि रकम तिर्न ४५ दिने सूचना जारी गरेको छ।