रसुवा। जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको हो।
प्रसिद्ध तीर्थस्थलका रुपमा देश विदेशमा परिचित भएता पनि अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुग्न सकेको थिएन। विद्युत पुगेपछि सुनमा सगन्ध थपिएको छ।
नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको हो।
विद्युतको सुविधाले अझै धार्मिक पर्यटकको संख्या बढ्दै जाने विश्वास गरिएको छ। गोसाईंकुण्डका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन्। जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ। यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई पर्यटकीय गन्तव्यस्थल बनाइदिएको छ।