तनहुँ। तनहुँको मितेरी खोलामा पक्की पुल निर्माण कार्य शुरु गरिएको छ। म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने मितेरी खोलामा पक्की पुल निर्माण शुरु गरिएको हो।
पुलको म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा शिलान्यास गरेका छन्। दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो। पुल म्याग्दे–५ र शुक्लागण्डकी नगरपालिका–७ लाई जोड्ने मितेरी खोलामा निर्माण गर्न लागिएको हो।
विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। कर सहित एक करोड ४० लाख ४३ हजार १ सय ४५ रुपैयाँमा पुल निर्माणको ठेक्का लागेको छ।
पुल निर्माणका लागि दुवै पालिकाले ७० लाख २१ हजार ५ सय ७२ लगानी गर्नेछन्। पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ। पुल नहुँदा यहाँका बासिन्दालाई वारपार गर्न समस्या हुने गरेको थियो। अब पुल निर्माण भएपछि भने सहज हुने स्थानीय बताउँछन्।