सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ३.५६ मेगावाटको देवढुङ्गा चाकुखोला आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ मा अवस्थित देवढुङ्गा र चाकुखोला समेतको पानीलाई प्रयोग गरेर जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो।
आयोजना निर्माणका लागि देवढुङ्गा मालिका हाइड्रो पावर कम्पनी प्रालिले अनुमति पत्रको माग गर्दै आवेदन दिएको विद्युत् विकास विभागले जनाएको छ।
आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार दुई खोलामा बाँध बाँधेर पानी लगि विद्युत् उत्पादन गरिने छ । आयोजनाको देवढुङ्गा खोला हेडवर्क्स, हेडरेस पाइप, इन्लेट जस्ता संरचना भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ सिन्धुपाल्चोकमा रहने छ।
आयोजनाको चाकुखोला हेडवर्क्स, हेडरेस पाइप, हेडपोण्ड, जिस्टक पाइप, विद्युत् गृह र टेलरेस भोटेकोशी गाउँपालिकाको ५ नम्बर वडामा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ ।